दुग्ध संकलनको विभिन्न चरण पार गर्दै २०५४ साल वैशाख १० गते डिभिजन सहकारी कार्यालय वारामा विधिवत् रुपमा दर्ता भएको यस वागदेव दुग्ध सहकारी संस्था लि.ले आफ्नै वेवसाइट सन्चालन गरेको अवसरमा हाम्रा सम्पुर्ण शेयर धनी महानुभावहरू, पूर्व अध्यक्ष एवं सल्लाहकारज्यूहरू, पूर्व सञ्चालक समिति, लेखासमिति, पूर्व विभिन्न उपसमिति, निर्वाचन समिति, वर्तमान सञ्चालक समिति, लेखासमिति, विभिन्न उपसमितिका सहकर्मी साथीहरू संस्थाका पूर्व कर्मचारीहरू, वर्तमान कर्मचारी साथीहरू, स्थानीय तह, प्रदेश तह, केन्द्रिय सरकार , सहकारीको माथिल्लो निकायहरु, सम्पूर्ण संघ संस्था, सञ्चारकर्मी साथीहरू विभिन्न उद्योगी व्यवसायी, शुभेच्छुक, शुभचिन्तक स्थापना कालका कृषक एवम् तत्कालीन समयका अग्रज व्यक्तित्वहरू सम्पूणर्मा हृदयदेखि नै सम्मान, सम्झना र हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस संस्था सहकारीमा दर्ता २०५४ सालमा आएर भएपनि दुग्ध संकलनको सुरुवात यस भेगमा २०३६ सालवाटै सुरुभएको देखिन्छ । त्यसबेलाको समयको लेखाजोखा गर्दा दुग्ध संकलन सुरुभएको हाल ४२ वर्ष भैसकेको पाउँछौं । यतिलामो दुग्ध क्षेत्रको स्वणिम यात्रामा आज यस सहकारीले आफ्नै वेवसाइट सन्चालन गरेकोमा आफुलाई महत्वपुर्ण सौभाग्य प्राप्त भएकोमा गर्वको अनुभूति भएको छ । २०३६ सालदेखि दुग्धसंकलन उपकेन्द्रको रुपमा दुग्ध संकलन सुरुभै २०३९ को सुरुवातबाट संकलनकेन्द्रको रुपमा दुग्ध संकलन हुँदै २०४३/४४ सालबाट दुग्ध उत्पादक संस्था बागदेव गठन भै दुग्ध सङ्कलनको तेस्रो चरण पुरा गरी संस्थागत इतिहास सुरुवात गर्दै २०५४ सालमा सहकारी ऐन बमोजिम सञ्चालन हुँदै सहकारी दर्ता मितिका हिसाबले संस्थाको रजत महोत्सव मनाइसकेका छौं । दुग्ध संकलनको सुरुवातका संस्थापक कृषकहरू आजसम्म विभिन्न समितिका अध्यक्षज्यू एवं सञ्चालक समिति परिवार र कर्मचारीहरूबाट आफ्नो कार्यकाल र कार्यरत समयमा महत्वपुर्ण योगदान भएको पाउँछु । म आज तपाई सम्पूर्ण अग्रज कृषकहरू, सहकारीकर्मी साथीहरू, अग्रज व्यक्तित्वहरूलाई स्मरण गरिरहेको छु ।

म तपाईहरूको योगदानको उच्च मूल्याङ्कन गर्छु इतिहासले तपाईलाई भविष्यसम्म जिउँदो राख्नेछ भन्ने विश्वास लिएको छु । आज हामी सबैको अथक मेहनत र मायाबाट यस संस्था दुग्धक्षेत्रमार्फत सहकारी जगतमा देशैभरी परिचित छ । दुग्ध संकलन उपकेन्द्रबाट सुरुभएको इतिहास आज झण्डै २००० कृषक मार्फत् १२ वटा दुग्ध संकलन केन्द्र, ४ वटा चिलिङ सेन्टर आफ्नै भव्य भौतिक संरचना-सहित आफ्नै ५ कठ्ठा जग्गामा दुग्ध उद्योग भवन स्थापना र रजत महोत्सवको अवसरमा उत्पादनको सुरुवातगरी दुग्धजन्य उत्पादनको बजारीकरणमा समेत प्रवेश गरिसकेको छ । आज सम्मको यात्रा माया सद्भाव र सहकार्य गरी आफुलाई संस्थाप्रति समर्पण गर्नुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दै यहाँहरूबाट पूर्ववत सहयोग र साथ प्राप्त भै संस्थाले अझ उचाई प्राप्त गर्न सक्षम हुनेमा विश्वस्त छु ।   धन्यवाद । जय सहकारी

थानेश्वर सापकोटा (अविरल)

अध्यक्ष